विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन,

cp new add
Nisharg hospital

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।

Nast Ad

उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कविहीन रहेको पाइयो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन सकेको थिएन।

लुइँटेलका अनुसार दिनभर सम्पर्क नभएपछि सोमबार बेलुका करिब ४ः३० बजे रतन गुप्ताले आफ्नो ह्वाट्सएपमा सन्देश पठाएका थिए। सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको थियो।

स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कमा छैनन्।

प्रहरीका अनुसार विद्यालय परिसरभित्र महिलाको शव फेला परेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मृत्युको कारण खुलिनसकेको र शव परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन रहेका रतन गुप्ताको खोजीसमेत भइरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...