
मोटरसाइकल दुर्घटनामा घाइते भएका आफ्नै सहयात्रीको उद्धार गर्नुको सट्टा हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु. प्र. ००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक
डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए। घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका आसाराम थारुलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जैसीले निर्माणाधीन घरमा प्रयोग भएको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरेको तथा मृतकले लगाएको मालारडोरीले घाँटी कसी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्या गरेपछि शव सिँचाइ नालामा फालेर उनी फरार भएका थिए।
घटनामा संलग्न गोविन्द जैसीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

