
धनगढी । सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक संस्कृतिमा आधारित नयाँ देउडा गीत ‘सुवा तेरा निम्ति’ बजारमा सार्वजनिक भएको छ। वीर बोहराको प्रस्तुतिमा तयार पारिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताको राम्रो माया पाइरहेको छ।

लोकप्रिय गायक कुलेन्द्र परियार, प्रवेश दाहाल र चर्चित गायिका रेखा जोशीको सुमधुर स्वरमा सजिएको यस गीतमा शेर बिष्टका उत्कृष्ट शब्द सिर्जना रहेका छन्। गीतको सङ्गीत संयोजन तथा लय कुलेन्द्र परियार स्वयंले गरेका हुन् भने कृष्णा बजुरालीले गीतको सङ्गीत मिलान गरेका छन्। ‘द म्युजिक इरा'(द म्युजिक इरा) रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो।
भीम थापाको निर्देशनमा तयार पारिएको आकर्षक भिडियोमा वीर बोहरा, बबी सिंह ठकुरी, भरत बोहरा र गोरख साउलगायतका कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ। भिडियोलाई अमृत उपाध्यायले छायाङ्कन गरेका हुन् भने प्रबिन रेश्मी मगरले सम्पादन गरेका छन्। निशा बोहराले श्रृङ्गार सम्हालेकी छिन्। खप्तड फिल्म्सले भिडियोको निर्माणपछिको सम्पादन कार्य गरेको हो।
देउडा सङ्गीतप्रेमीहरूका लागि विशेष कोसेलीका रूपमा ल्याइएको यो गीत ‘वीर बोहरा अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सुदूरपश्चिमको मौलिकपन र आधुनिक दृश्य संयोजनका कारण भिडियोलाई दर्शकहरूले निकै रुचाएका छन्।

