आकाशमै ठोक्किए हेलिकप्टर

cp new add
Nisharg hospital

ग्रीसमा डढेलो निभाउन परिचालन गरिएको दुइटा हेलिकप्टर आकाशमै ठोक्किएका छन्। राजधानी एथेन्सको उत्तरपश्चिम क्षेत्रमा फैलिएको भीषण डढेलो निभाउन गएका दुई हेलिकप्टर आकाशमै ठोक्किएपछि दुई जनाको मृत्यु भएको छ। एउटा हेलिकप्टरमा रहेको एक जना ग्रीक र एक डेनिस नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अर्को हेलिकप्टरमा रहेका एक जना ग्रीक र एक जना बेलायती चालक दलका सदस्य भने सकुशल छन्।

Nast Ad

आइतबार एटिका क्षेत्रको पसाथामा नजिकको डढेलो माथिबाट पानी खन्याउने क्रममा कम उचाइमा रहेका दुई हेलिकप्टर आपसमा ठोक्किएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा दुई हेलिकप्टर एकअर्कालाई क्रस गर्न लागेको देखिन्छ। त्यसक्रममा तल उडिरहेको हेलिकप्टरको मुख्य रोटर माथिल्लो हेलिकप्टरको तल्लो भागमा ठोक्किएपछि माथिल्लो हेलिकप्टर आगोको मुस्लोसहित जमिनमा खसेको देखिन्छ।

अर्को हेलिकप्टरले भने आफ्नो पानी खसालेर घटनास्थलबाट उडेको भिडियोमा देखिन्छ। यद्यपि रोयटर्सले उक्त भिडियोको आधिकारिक पुष्टि गरेको छैन। दुर्घटनाको अनुसन्धान भइरहेको ग्रीसको अग्नि नियन्त्रण सेवाले जनाएको छ।

एथेन्सबाट करिब ६० किलोमिटर उत्तरपश्चिम रहेको पोर्टो जर्मेनो क्षेत्रमा फैलिएको डढेलोले हालसम्म १०० भन्दा बढी घर ध्वस्त पारिसकेको छ। शक्तिशाली हावाका कारण आगो पहाड पार गर्दै भेनिजा बस्ती र सैन्य अभ्यास क्षेत्रमा पुगेपछि त्यहाँ रहेका विस्फोट नभएका गोला–बारुदमा समेत आगलागी भएको अधिकारीहरूले बताएका छन्।

उद्धारकर्मीहरूले करिब ३० हजार जनसंख्या रहेको तटीय सहर मेगारातर्फ आगो फैलिन नदिन सबै प्रयास केन्द्रित गरेका छन्। पश्चिमी एटिकाका मेगारा नजिकका औद्योगिक क्षेत्रसहित धेरै बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आपत्कालीन सूचना जारी गरिएको छ। ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आइतबार सम्बोधन गर्दै प्रकृतिको शक्ति र मौसमको तीव्रताले कहिलेकाहीँ मानवीय योजना र सबै परिचालन क्षमतालाई नै चुनौती दिने भन्दै अहिलेको अवस्था अत्यन्त कठिन रहेको बताएका छन्।

प्रारम्भिक अनुसन्धानले बोयोटिया क्षेत्रमा सुरु भएको आगो निजी विद्युत् प्रसारण लाइन सर्ट हुँदा लागेको हुन सक्ने देखाएको छ। उक्त लाइनले हावाबाट उत्पादन भएको बिजुली राष्ट्रिय ग्रिडमा पठाउने काम गर्दै आएको थियो।  स्पेनको मध्य क्षेत्रमा गत सातादेखि फैलिएका भीषण डढेलो अधिकांश स्थानमा नियन्त्रणमा आइसके पनि केही क्षेत्रमा पुनः आगो बलिरहेको छ।

पश्चिमी कासेरेस प्रान्तमा शनिबार लागेको जंगलको आगोका कारण करिब ८०० जनालाई सुरक्षित स्थानमा सारिएको थियो। आइतबार उनीहरूलाई घर फर्कन अनुमति दिइए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा नआएकाले घरभित्रै बस्न निर्देशन दिइएको छ। डढेलोसँगै युरोपका धेरै देश अहिले खडेरीको संकटसँग पनि जुधिरहेका छन्।

राइन र ड्यान्युबजस्ता प्रमुख नदीहरूको जलस्तर ऐतिहासिक रूपमा घटेको छ। हंगेरीमा ड्यान्युब नदीको पानी चार दशकयताकै सबैभन्दा कम भएपछि देशको एकमात्र आणविक विद्युत् केन्द्र पहिलो पटक बन्द गर्नुपरेको प्रधानमन्त्री पिटर माज्यारले बताएका छन्। उनका अनुसार आगामी पाँच दिन हंगेरीका लागि अत्यन्त चुनौतीपूर्ण हुनेछन्।

कम वर्षाका कारण ड्यान्युब नदीको जलस्तर घट्दा हंगेरीमा जलयातायात र पर्यटन प्रभावित भएको छ भने १०० भन्दा बढी सहर तथा गाउँमा पानी प्रयोगमा प्रतिबन्ध लगाइएको छ। सर्बियामा पनि ड्यान्युब नदी सन् १९८५ यताकै सबैभन्दा कम स्तरमा झरेपछि देशको सबैभन्दा ठूलो जलविद्युत् केन्द्रको दैनिक उत्पादन २० प्रतिशतमा सीमित भएको त्यहाँका ऊर्जा मन्त्रीले बताएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...