
काठमाडौं । जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूको संख्या पहिलोपटक १ लाख पार गरेको छ। पछिल्लो तथ्यांकअनुसार जापानमा अहिले १०७,६७७ जना शतायु व्यक्तिहरू रहेका छन्, जुन विश्वमै सबैभन्दा बढी हो । बीबीसीका अनुसार यसमा पनि ८८ प्रतिशत महिलाहरू रहेका छन् ।
क्योटो सहरकी ११४ वर्षीया किसिमोतो फुयो देशकी सबैभन्दा ज्येष्ठ महिला हुन् भने कुमामोटोका ११२ वर्षीय कातो हिकारु सबैभन्दा ज्येष्ठ पुरुष हुन्। स्वास्थ्य मन्त्री केनिचिरो उएनोले चिकित्सा र प्रविधिमा भएको प्रगतिको प्रशंसा गर्दै धेरै मानिसहरू लामो, स्वस्थ र सक्रिय जीवन बाँचिरहेकोमा खुसी व्यक्त गरेका छन्। यद्यपि, उनले देशको दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न ठूलो चुनौती रहेको चेतावनीसमेत दिएका छन्।
विशेषज्ञहरूका अनुसार स्वस्थ खानपान र सक्रिय जीवनशैली जापानी नागरिकहरूको लामो आयुको प्रमुख कारण हो। यहाँको मुख्य खानामा माछा, तरकारी र चामल समावेश हुन्छ, जसमा धेरै पश्चिमी खानाहरूको तुलनामा स्याचुरेटेड फ्याट कम हुन्छ।
यसबाहेक, वृद्धवृद्धाले नियमित रूपमा हिँड्ने, सार्वजनिक यातायात प्रयोग गर्ने, साइकल चलाउने र स्ट्रेचिङ गर्ने गर्छन्।

