
पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय नेपाली युवक सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ। अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको हो।
उनले आफूमाथि लागेको आरोप स्वीकार वा अस्वीकार गर्दै अदालतमा कुनै प्रतिक्रिया दिएका छैनन्। घटनाको २४ घण्टाभन्दा कम समयमै बुधबार अधिकारी बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए। अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रश्न गर्दा अधिकारीसँग केही समर्थकसमेत देखिएका थिए। रिपोर्टअनुसार उनले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेका थिए।
अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ बताएका छन्। उनका अनुसार अधिकारी निकै तनावमा छन् र बालिकाको परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन्।
कसरी भयो घटना ?
मंगलबार दिउँसो करिब २ बजे अर्बनको नर्मनबी रोडमा ड्राइभवेमा खेलिरहेकी बालिकालाई कारले ठक्कर दिएको खबर पाएपछि आपत्कालीन सेवाका टोली घटनास्थल पुगेका थिए। गम्भीर घाइते बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो। तर, केही घण्टापछि उनको मृत्यु भएको थियो।
घटनामा अधिकारीलाई भने कुनै चोटपटक लागेको थिएन। अनिवार्य परीक्षणका लागि उनलाई अर्बन अस्पताल लगिएको थियो। त्यसपछि उनलाई अर्बन प्रहरी स्टेसन लगेर प्रहरीले मुद्दा चलाएको थियो। अधिकारी अहिले जमानतमा छन्। उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ।
अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप पुष्टि भइसकेको छैन।

