
काठमाडौँ। राष्ट्रिय सभामा सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनीहरूले बजारमा उपभोक्ताले महँगो मूल्य तिर्दा पनि आवश्यक वस्तु सहज रूपमा नपाइरहेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन्।

सांसद कृष्णबहादुर रोकायाले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताए। भारतमा एलपी ग्यासको मूल्य पटक-पटक घटे पनि नेपाल आयल निगमले घाटाको कारण देखाउँदै मूल्य नघटाएको उनको आरोप छ। रुकुम पश्चिमसहित विभिन्न जिल्लामा एलपी ग्यास अभावका कारण स्थानीय नागरिक र होटेल व्यवसायी समस्यामा परेको भन्दै प्रभावित क्षेत्रमा तत्काल सहज आपूर्तिको व्यवस्था गर्न उनले माग गरे।
रोकायाले, ‘जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धिले आकाश छोएको छ’ भन्दै, ‘अर्कोतिर चर्को मूल्यका बाबजुद सामानहरू बजारमा सहज रूपमा नागरिकले प्राप्त गर्न सकिरहेका छैनन्’ भनेका छन्। उनले छिमेकी देश भारतमा एलपी ग्यास सिलिन्डरको मूल्य पटक-पटक घट्दा समेत नेपालमा भने घाटा भएको भन्दै निगमले मूल्य नघटाउँदा उपभोक्ता मारमा परेको बताए। राजधानीसहित बाहिरी जिल्लामा पर्याप्त रूपमा ग्यास नहुँदा नागरिकले सास्ती व्यहोरेको र केही दिनदेखि रुकुम पश्चिममा एलपी ग्यासको अभाव हुँदा नागरिक र होटेल व्यवसायी पीडित भएको उनले उल्लेख गरे। ग्यास लगायतका वस्तुको मूल्य घटाउन र अभाव भएका क्षेत्रमा यथाशीघ्र आपूर्तिको सहज व्यवस्था मिलाउन उनले ध्यानाकर्षण गराए।
सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा महँगीले नागरिकको भान्सा प्रभावित भएको बताइन्। पेट्रोलियम पदार्थको पछिल्लो मूल्यवृद्धिले खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी र फलफूललगायतका वस्तुको मूल्य थप बढ्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। ग्यासको मूल्य यथावत् रहेको भनिए पनि उपभोक्ताले सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले नागरिकका अत्यावश्यक आवश्यकताप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्।
सापकोटाले, ‘हाम्रा चाडपर्वहरूको आगमनसँगसँगै नेपाली नागरिकहरूको भान्सा र चुल्होमा महँगीको चापले ठूलो असर पार्न थालेको छ’ भन्दै, ‘साँझ-बिहानको छाक पनि धौ-धौ हुँदैछ, गएराति १२ बजेदेखि पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि भएको छ’ भनिन्। यसका कारण सबै प्रकारका खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी र फलफूलको मूल्य बढेको तथा ग्यासको मूल्य यथावत् भनिए पनि नागरिकले सहज नपाएको उनले बताइन्। सरकारले नागरिकको अत्यावश्यक दैनिकीप्रति चासो नदेखाएको आरोप लगाउँदै उनले चाडबाडको मुखमा विकल्प खोजेर भए पनि नागरिकको नैसर्गिक अधिकारप्रति सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिइन्।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले पनि बजारमा एलपी ग्यास अभावसँगै तरकारी, फलफूल र अन्य खाद्यवस्तुको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवन कठिन बनेको बताए। खाद्यवस्तुमा विषादी र अखाद्य पदार्थको मिसावटका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन गुणस्तर विभागको क्षमता र जनशक्ति विस्तार गर्न सरकारसँग माग गरे।
अधिकारीले, ‘बजारमा ग्यासको अभाव बढेको छ’ भन्दै, ‘तरकारी र फलफूल लगायतका खाद्यजन्य पदार्थमा बढ्दै गएको मूल्यवृद्धिले सर्वसाधारण जनताको भान्सा चल्न कठिन भइरहेको छ’ भनेका छन्। तरकारी, फलफूल, दुग्धजन्य लगायतका खाद्य पदार्थमा विषादीजन्य र अखाद्य वस्तुको मिसावटबाट नसर्ने रोगको वृद्धि भई जनस्वास्थ्यमा गम्भीर असर परिरहेको उनले बताए। उनले बढ्दो महँगी नियन्त्रण गर्न, बजारभाउ घटाउन र गुणस्तर विभागको क्षमता तथा जनशक्ति बढाएर बजार अनुगमनलाई अनिवार्य एवं प्रभावकारी बनाउन सरकारसँग माग गरे।

