
नेपाल शिक्षक महासंघले विगतका सहमति कार्यान्वयन नभएको र शिक्षा नियमावलीका प्रावधानमा असहमति जनाउँदै भदौ महिनादेखि आन्दोलनमा जाने निर्णय गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग सम्बोधन नभएमा विगतभन्दा ठूलो सहभागितासहित सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शिक्षकको बढुवा व्यवस्था, सेवा सुविधा र ट्रेड युनियन अधिकारमा हस्तक्षेप भएको भन्दै महासंघले सरकारसँग तत्काल वार्ताको अपेक्षा गरेको छ ।

नेपाल शिक्षक महासंघले २०७५, २०७८, २०८० र २०८१–०८२ मा सडक आन्दोलन गर्यो । आन्दोलनपछि पटक–पटक सरकारसँग सहमति पनि भयो । तर सहमति कार्यान्वयन नभएको भन्दै महासंघले फेरि भदौदेखि आन्दोलन घोषणा गरेको छ । महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।
पटक-पटकका आन्दोलन, त्यसपछि भएका सहमति, २०८२ साल वैशाख १७ गते मन्त्रिपरिषद्ले गरेका ९ बुँदे निर्णय कार्यान्वयन तथा आगामी आन्दोलनबारे शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसँग अनलाइनखबरकर्मी दिनेश गौतमले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
साउन १६ र १७ गते दुई दिन महासंघको परिषद् बैठक बस्यो । यो बैठकले के–के निर्णय गर्यो
मुख्यतः दुई विषयमा छलफल भयो । पहिलो, नेपाल शिक्षक महासंघको विधान संशोधन गर्ने निर्णय गरियो । शिक्षा नियमावलीको १०औँ संशोधनले गरेको व्यवस्थाअनुसार विधान संशोधन गरेका छौँ । सांशोधित विधानअनुसार अब सबै शिक्षक महासंघका सदस्य हुने र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

