
काठमाडौँ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा भारतीय गतिविधि, सुस्तामा तटबन्ध भत्काइएको घटना तथा तीन जना नेपाली युवा घाइते भएको विषय उठाउँदै नेपालको सीमा सुरक्षा र सार्वभौमिकताको संरक्षणबारे सरकारको जवाफ माग गरेका छन्।

उनले कानुनमन्त्री र पूर्वाधारमन्त्रीले चोरीको सवारीसाधन चढेर हिँड्ने गरेको आरोपसमेत लगाएका छन्। विश्वकर्माले भने, ‘नेपाली भूमि लिपुलेक, लिम्पियाधुरामा गाडी गुडायो, सुस्तामा तटबन्ध भत्कायो, तीन जना युवालाई घाइते बनायो । सीमाको सुरक्षा कहिले हुन्छ ? र भारतीय दादागिरीको अन्त्य कहिले हुन्छ सरकाररु’ भनेका छन्।
उनले अगाडि थपे, ‘हाम्रा कानुन मन्त्री र पूर्वाधार मन्त्री चोरीका गाडीहरूको लस्करमा सयौँ स्वकीय नामका व्यक्तिलाई दौडाइरहेका छन्।’ उनले यो देशलाई सरकारी लुटेराको देश साबित गरिरहेको आरोप लगाउँदै अवैध धन्दावालाको अन्त्य कहिले हुन्छ भनेर सरकारलाई प्रश्न गरेका छन्।
उनले चार महिनादेखि जारी रहेको दीपा नेपालीको आन्दोलनप्रति सरकार मौन रहेको आरोप लगाएका छन्। पीडितको माग सम्बोधन गर्न तत्काल वार्तामा बोलाएर समस्या समाधान गर्न उनले सरकारसँग आग्रह गरेका छन्।

