
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बिनाशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको हो। नागरिक बचाउ महाअभियान, नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालले आठबुँदे मागसहित प्रदर्शन आयोजना गरेका हुन्।
प्रदर्शनकारीहरूले दुर्गा प्रसाईंको बिनाशर्त रिहाइ, अभिव्यक्ति स्वतन्त्रताको सम्मान, सामाजिक सद्भाव कायम, सुकुम्बासी समस्याको समाधान, वैदेशिक हस्तक्षेप अन्त्य, १२ बुँदे सम्झौताको कार्यान्वयन तथा लघुवित्त, बैंक, सहकारी र मिटरब्याजपीडितका समस्याको समाधान गर्न सरकारसँग माग गरेका छन्। प्रसाई हाल भक्तपुर प्रहरीको हिरासतमा छन् ।

