
काठमाडौँ — त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न बनेको समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको नेतृत्वमा बनेको समितिले यो प्रतिवेदन तयार पारेको हो ।

समितिका एक सदस्यका अनुसार आइतबार प्रतिवेदन बुझाइएको हो र अब मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिनेछ । समितिले घटनाका प्रत्यक्षदर्शी, महानगर प्रहरी, घटनास्थल नजिक रहेका प्रहरी निकाय र अस्पतालका चिकित्सकसँग बयान लिएको थियो । समितिले घटनास्थलको सीसीटीभी फुटेजको पनि अध्ययन गरेको थियो ।
६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त घटनाबारे छानबिन गर्न प्रहरीले यसअघि बनाएको समितिले पनि २१ जनासँग बयान लिएको थियो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) गोविन्द थपलियाको नेतृत्वको समितिले प्रत्यक्षदर्शी, नगर प्रहरीका कर्मचारी र अन्य गरी २१ जनासँग बयान लिएको हो ।
२५ असारमा त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो । मोटरसाइकल पार्किङको विषयमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले जरिवाना गरेपछि भएको विवादमा उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर आत्मदाहको प्रयास गरेका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
यसपछि नगर प्रहरीकै कारण उनले आत्मदाहको प्रयास गरेको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् । सरकारको विरोधस्वरूप देशव्यापी आन्दोलन चर्किएको थियो । त्यसपछि सरकारले पीडित परिवारका माग सम्बोधन गर्ने सहमति गरेपछि आन्दोलन रोकिएको थियो।

