
धनगढी । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन् ।

बजेटको विषयमा विवाद बढेपछि शाहले ३१ असारमा एमालेका चार मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए । सोही दिन एमालेले शाह सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले बिहीबार स्वतस् पदमुक्त हुनेछन् ।तर, शाहले अल्पमतमा परेको २९औं दिनमा बुधबार कांग्रेस संसदीय दलको बैठक बोलाएका हुन् ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काले दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारका विषयमा निर्णय हुने बताइन् । उनकाअनुसार शाहले पदबाट राजीनामा दिनेछन् । तर, प्रदेश प्रमुखलाई सोझै राजीनामा दिने कि प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गरी प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाउने भन्ने विषयमा मुख्यमन्त्रीले परामर्श गर्नेछन् ।
‘एमालेले समर्थन फिर्ता लिएपछि हामी स्पष्ट रुपमा अल्पमतमा परेको कुरा सबैलाई थाहै छ । नेकपा र एमालेको सहकार्यले प्रदेश सभामा नयाँ सम्भावना नदेखिएकाले उहाँले राजीनामा दिनुहुन्छ’, खड्काले भनिन्, ‘त्यसै विषयमा परामर्श गर्न मुख्यमन्त्री ज्यूले दलको बैठक बोलाउनुभएको हो ।’

