डोटीका भूकम्पपीडित त्रिपालको बासमा, पुगेन राहत

cp new add
Nisharg hospital

२४ कात्तिक,डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन ।

Nast Ad

उनीहरु तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलि हाउसमा रात बिताउन बाध्य भएको बताएका छन ।
भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यमा परेको बताएका हुन । गत मङ्गलबार रातिको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ ।

कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ । स्थानीय भरत बोहराले भने, “सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरु पोलि हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ ।”

नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरुप वितरण गरे पनि पीडितलाई अपुग भएको छ । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले भूकम्पले ज्यान गुमाएको परिवारका सदस्यलाई एक लाख ५० हजार तथा नेकपा एमाले डोटीबाट एक लाख आर्थिक सहयोग प्राप्त भएको थियो ।

अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन । गाउँभरिमै भूकम्पको पीडाले सन्नटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बादर र मुसाले खान थालेको पीडितहरु बताउँछन । खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताए ।

उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्प पीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले आजै विपद् व्यवस्थापनको बैठक राखी सम्भवतः आजै वितरण गरिने बताइन । उनले भनिन्, “गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतका लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौं होला ।”

मङ्गलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसमा परी उक्त गाउँका छ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए । उक्त भूकम्पमा परी आठ घर पूर्ण ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दर्जर्नौँ घरमा क्षति पुगेको छ । –रासस

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...