
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा ३ जना बेपत्ता भएका छन् । पोखराका विभिन्न ठाउँमा खोला तर्ने क्रममा उनीहरू बेपत्ता भएका हुन् । पोखरा महानगरपालिका २६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । पोखरा १४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउँदै गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा खोटाङ घर भई हाल पोखरा १४ चाउथेमा डेरा गरी बस्ने सुवास राईका १५ वर्षीय छोरा ओमन राई छन् । त्यस्तै, स्याङ्जा घर भइ पोखराको छिनेडाँडा बस्दै आएका चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निक्सन गुरुङ पनि बेपत्ता छन् । खोजीका लागि खटिएको टोली रित्तै हात फर्किएको छ । आइतबार पनि विहानै देखि खोजीका लागि टोली खटिएको प्रहरीले जनाएको छ । यसैबीच, शिशुवामा पनि खोला तर्ने क्रममा अर्का एकजना बेपत्ता भएका छन् । उनको पहिचान खुल्न बाँकी छ । उनको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण कास्कीका विभिन्न क्षेत्रमा पहिरो, सडक कटान, पुलमा क्षति भएका छन् । अन्नपूर्ण गाउँपालिकाको विरेठाँटी क्षेत्रमा मोदी खोलाको बाढीले बढी क्षति पुगेको छ ।

