
२५ कात्तिक, धनगढी । नेपाली कांग्रेसका कार्यकर्ताले गरेको अवरोध रोक्दा पूर्व मन्त्री तथा नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाका निजी सुरक्षा गार्ड खोसिएका छन् ।

‘केही दिन अघि हामी घरदैलो कार्यक्रम सकेर फूलबारीबाट फर्किदै गर्दा कांग्रेसका कार्यकर्ताले गाडी रोकेर म माथि हातपात गर्न खोजेको थियो,’ रानाले भने, ‘मेरो निजी सुरक्षा गार्डले उहाँहरुलाई रोक्नुभएको थियो । घटना भएको दोस्रो दिनबाट उनलाई फिर्ता बोलाइयो ।’
अगामी मंसिर ४ गते हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेको राना पूर्व वन तथा वातावरण मन्त्री हुन् । उनी पदमुक्त भएपछि सरकारले निजी सुरक्षा गार्डका रुपमा नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक(असई) दिलिप चौधरीलाई पठाएको थियो ।
तर चुनावको मुखैमा कात्तिक २१ गते भने चौधरीलाई फिर्ता बोलाइएको हो । एमालेका पोलिट्ब्युरो सदस्य पनि रहेका रानाले मन्त्रीबाट पदमुक्त भएको दुई वर्षसम्म अंग रक्षक राख्न पाउने व्यवस्था भएपनि चुनावको मुखैमा सुरक्षार्थ खटिएका अधिकारीलाई फिर्ता बोलाएपछि आफुमाथी सुरक्षा चुनौती भएको बताए ।
सरकार पक्षबाट नै आफूमाथि सुरक्षा चुनौती बढेको उनको भनाइ छ ।

