
धनगढी । कैलालीको गोदावरी नगरपालिका–२, अत्तरिया पहाड रोडस्थित पूर्वेली मःम कर्नर एण्ड लजबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

सोमबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५ ग्राम ९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का २७ वर्षीय देव साउद, गोदावरी नगरपालिका–८ का २० वर्षीय अभिषेक चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २७ वर्षीय हेमराज पन्त रहेका छन्।
प्रहरीले बरामद पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

