
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सदस्य सुरेश विश्वकर्माले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएका छन्।

मुख्यमन्त्री खगराज भट्टको नेतृत्वमा प्रदेश सरकार तथा मन्त्रिमण्डल गठन हुँदा दलित समुदायबाट एक जना पनि मन्त्री नबनाइएको विषयप्रति उनले आपत्ति जनाएका हुन्।
सुदूरपश्चिमको कुल जनसंख्यामा करिब १९ प्रतिशत दलित समुदायको बसोबास रहेको उल्लेख गर्दै विश्वकर्माले राज्य सञ्चालनको महत्वपूर्ण तह प्रदेश मन्त्रिमण्डलमा दलित समुदायको प्रतिनिधित्व नहुनु समावेशी लोकतन्त्रको मर्मविपरीत भएको बताएका छन्।
उनले नेपालको संविधानले समानुपातिक समावेशी सहभागिताको सिद्धान्त सुनिश्चित गरेको भन्दै दलित समुदायलाई निर्वाचनका बेला मतदाताका रूपमा मात्र सम्झिने र राज्य सञ्चालन तथा निर्णय गर्ने तहमा प्रतिनिधित्व नदिने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।
दशवर्षे जनआन्दोलन तथा लोकतान्त्रिक गणतन्त्र स्थापनाका संघर्षमा दलित समुदायले समेत महत्वपूर्ण त्याग र बलिदान गरेको स्मरण गराउँदै विश्वकर्माले संघर्षका क्रममा दलित समुदायको योगदानलाई स्वीकार गर्ने तर नेतृत्व र निर्णयको तहमा पुग्दा उनीहरूलाई बेवास्ता गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
“बलिदान दिँदा दलित अगाडि हुने, तर नेतृत्वको तहमा पुग्दा ‘को हो, मैले त चिनेको छैन’ भन्दै पन्छाउने प्रवृत्ति किन?” भन्दै उनले प्रश्न गरेका छन्। यस्तो व्यवहारले दलित समुदायलाई हेपिएको अनुभूति हुने उनको भनाइ छ।
विश्वकर्माले विगतका आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धि सबै समुदायको समान सहभागिता, सामाजिक न्याय र समावेशी शासन हुनुपर्ने उल्लेख गर्दै प्रदेश सरकारको मन्त्रिमण्डलमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्।
मुख्यमन्त्रीसँग आफूहरूले कुनै विशेष कृपा वा उपकार नमागेको बताउँदै उनले संविधानले सुनिश्चित गरेको अधिकार र समान सहभागिताको कार्यान्वयन मात्र माग गरिएको स्पष्ट पारेका छन्।
उनले मन्त्रिमण्डल पुनर्विचार गरी दलित समुदायबाट योग्य, सक्षम र नेतृत्व गर्न सक्ने प्रतिनिधिलाई मन्त्रीका रूपमा समेट्न मुख्यमन्त्रीसमक्ष आग्रह गरेका छन्।
दलितको मत आवश्यक पर्ने तर नेतृत्वमा दलितलाई स्थान नदिने ‘युज एन्ड थ्रो’ प्रवृत्तिको राजनीति अब स्वीकार्य नहुने विश्वकर्माको भनाइ छ। उनका अनुसार समावेशी शासन भाषणमा मात्र नभई व्यवहारमै देखिन आवश्यक छ।
— सुरेश विश्वकर्मा
राष्ट्रिय स्वतन्त्र पार्टी, सुदूरपश्चिम प्रदेश सदस्य

