
गत बुधबारको विनाशकारी बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि पीडितको उद्धार, राहत तथा बेपत्ताको खोजीका लागि अन्तर्राष्ट्रिय सहयोग जुट्ने क्रम जारी छ।
यसैबीच, संयुक्त राज्य अमेरिकाको ‘क्राइसिस रेस्पोन्स इन्टरनेसनल’को १३ सदस्यीय विज्ञ उद्धार टोली नेपाल आइपुगेको छ। टोलीले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा केन्द्रित भएर खोजी तथा उद्धार कार्य शुरू गर्ने बताइएको छ।
उद्धार टोलीका सदस्य फेरिन कोलले नेपाली जनताको धैर्यता र उद्धार कार्यमा देखाएको साहसको प्रशंसा गरेका छन्।
‘नेपाली जनता अत्यन्तै सहनशील छन् र उद्धार कार्यमा अद्भुत काम गरिरहेका छन्। उनीहरूको सेवामा सहभागी हुन पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो,’ उनले भने, ‘यहाँ कयौं परिवारले आफ्ना प्रियजन गुमाएका छन्, यो निकै हृदयविदारक क्षण हो।’
चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र अझै केही मानिस जीवितै रहेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अमेरिकी टोलीले आफ्नो खोजी योजना तयार पारेको बताइएको छ।
कोलका अनुसार टोली हेलिकोप्टरमार्फत् सुरुङ क्षेत्रमा पुगेर अत्याधुनिक ‘लिसनिङ इक्विपमेन्ट’ अर्थात् ध्वनि सुन्ने प्रविधिको प्रयोग गर्नेछ। उक्त प्रविधिबाट सुरुङभित्र मानिसको आवाज वा अन्य स्पन्दन पत्ता लगाउने प्रयास गरिनेछ। त्यसपछि सुरक्षा टोलीले सुरुङभित्र प्रवेश गरी अवस्थाको यकिन गर्ने योजना छ।
उद्धार टोलीका अर्का सदस्य डेरिक स्पेन्सरले सुरुङभित्र प्रवेश गर्नु निकै चुनौतीपूर्ण रहेको बताएका छन्।
उनका अनुसार टोली सुरुङको प्रवेशद्वारसम्म पुगे पनि भित्री अवस्था जोखिमपूर्ण देखिएपछि विशेष सावधानी अपनाउँदै डोरीको सहायतामा उद्धार कार्य अघि बढाउने तयारी गरिएको छ। सुरुङको भित्री भागसम्म पुग्न थप जनशक्ति र समन्वयको आवश्यकता रहेको उनले बताए।
हाल रसुवाको सुरुङ क्षेत्रमा स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा स्वदेशी र विदेशी उद्धारकर्ता मिलेर खोजी तथा उद्धार कार्यमा जुटिरहेका छन्।
‘हामी स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलसँग मिलेर काम गरिरहेका छौं। सबैको सहकार्यले नै यो जोखिमपूर्ण कामलाई सम्भव बनाउनेछ,’ स्पेन्सरले भने।

