
धनगढी। भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहतका लागि धनगढीस्थित श्री त्रिनगर माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीले ६६ हजार पाँच रुपैयाँ सहयोग गरेका छन्।
विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यालयमा कार्यरत शिक्षक र कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको विद्यालयले जनाएको छ। संकलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए।
भोटेकोशीमा आएको बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा पीडितलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएकाले शिक्षक तथा विद्यार्थीको सहभागितामा सहयोग अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले अभियानमा स्वेच्छिक रूपमा सहभागी भई सहयोग गर्ने सम्पूर्ण शिक्षक तथा विद्यार्थीप्रति आभार व्यक्त गरेको छ।

