
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले एआईको सहायताबाट तयार पारिएको कृत्रिम तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको पाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा ओलीले ‘राम्रो स्वागत’ पाएको दाबी गर्दै उनको गलामा जुत्ताको माला र अनुहारमा कालोमोसो दलिएको देखिने तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो । तर, उक्त तस्बिर वास्तविक नभई एआई प्रविधिको प्रयोग गरी तयार पारिएको तथ्यजाँचबाट खुलेको हो ।
ओली केही दिनअघि बाढी प्रभावित धादिङ र नुवाकोटका विभिन्न स्थानमा स्थलगत अवलोकनका लागि पुगेका थिए । त्यसक्रममा उनले बाढीपीडितको उद्धार तथा राहतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
यसैबीच, ओलीले एक भारतीय पत्रकारलाई दिएको अन्तर्वार्ता सार्वजनिक भएको भोलिपल्ट उक्त कृत्रिम तस्बिर सामाजिक सञ्जालमा तीव्र रूपमा फैलाइएको देखिएको छ । सुरुमा ‘Budda Magar’ नामको प्रोफाइलबाट पोस्ट गरिएको उक्त तस्बिर त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाममा खोलिएका विभिन्न फेसबुक पेज तथा ग्रुपमा व्यापक रूपमा शेयर गरिएको पाइएको छ ।
सरकारको आलोचना गर्ने राजनीतिक नेता तथा सार्वजनिक व्यक्तिमाथि सामाजिक सञ्जालमार्फत धम्की, गालीगलौज र आपत्तिजनक टिप्पणी गर्ने प्रवृत्ति पछिल्ला दिनमा बढ्दै गएको छ । बाढीपहिरोमा परिवारका सदस्यसहित सर्वस्व गुमाएका पीडितलाई समेत सामाजिक सञ्जालमा अश्लील तथा अमर्यादित गालीगलौज गर्ने घटना सार्वजनिक भएका छन् ।
यस्ता गतिविधिको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री वालेन्द्र साहले सामाजिक सञ्जालमा बाढीपीडितलाई गाली गर्नेहरूलाई ‘अपराधी’को संज्ञा दिँदै कारबाही गर्ने चेतावनी दिएका थिए । तर, सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री फैलाउने क्रम भने अझै रोकिएको छैन ।

