


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका छन् ।



भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, सुशासन, रोजगारी र असल छिमेकी सम्बन्ध रहेको बताएका हुन् । ‘अहिले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने त्यो युग अब सकियो,’ वाग्लेले भने ।





नेपाल र भारतको भाग्य तथा भविष्य एकअर्कासँग जोडिएको उल्लेख गर्दै उनले भारतसँगको सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । उनले नेपालका प्रधानमन्त्री बालेन शाहले पनि चाँडै भारत भ्रमण गर्ने अपेक्षा व्यक्त गरे ।

वाग्लेले विपद्का बेला भारतले गरेको सहयोगको प्रशंसा गर्दै जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसबाट क्षति भएका पूर्वाधार पुनर्निर्माण गर्न नेपालले ऋण लिनुपर्ने अवस्थामाथि प्रश्न उठाए ।






