
काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भइरहेका बेला भारतका एक १० वर्षीय बालकले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्।
भारतको उत्तर प्रदेशस्थित कुशीनगरका कक्षा ३ मा अध्ययनरत अल्फाज शेखले नेपालका बाढीपीडितका लागि आफ्नो खुत्रुके नै दान गरेका हुन्। उनले जिल्ला अधिकारी महेन्द्रसिंह तनवारलाई खुत्रुके हस्तान्तरण गरेका छन्।
नेपालमा बाढीका कारण मानिसहरूले ज्यान गुमाएको र घरबारविहीन भएको दृश्य युट्युबमा देखेपछि आफूले जम्मा गरेको रकम सहयोग गर्ने निर्णय गरेको अल्फाजले बताएका छन्। ‘भयावह बाढीका कारण नेपालमा धेरै मानिसले ज्यान गुमाएको र घरबारविहीन भएको दृश्य युट्युबमा देखेँ,’ उनले भने, ‘त्यसैले म मेरो खुत्रुके दान गर्न चाहन्छु।’
अल्फाजले विगत एक वर्षदेखि खुत्रुकेमा रकम जम्मा गर्दै आएका थिए। नेपालको बाढीको अवस्था देखेपछि उनले आफ्नो बचत सहयोग गर्ने इच्छा हजुरबुबालाई बताएपछि खुत्रुके जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन्। बालक अल्फाजको यो मानवीय कार्यको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। धेरैले उनको दयालु भावनाको प्रशंसा गर्दै शुभकामना दिएका छन्।
गत अगस्ट २६ मा चीन–नेपाल सीमा क्षेत्रमा आएको भीषण बाढीले दुवै देशमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण १३ सयभन्दा बढीको मृत्यु भएको र ५ हजार ५ सयभन्दा बढी मानिस बेपत्ता रहेको जनाइएको छ। नेपालमा बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ। रसुवानजिकका कतिपय समुदाय अझै सम्पर्कविहीन छन्।
भदौ १० गतेको बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपालले सोमबार राष्ट्रिय शोक मनाइरहेको छ। देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
भोटेकोशी बाढीले पहाडी जिल्लामा सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। नुवाकोट र धादिङका केही भागसहित त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसमेत प्रभावित भएका छन्। बाढीका कारण यातायात, विद्युत्, खानेपानीलगायत अत्यावश्यक सेवा अवरुद्ध भएका छन्।

