
धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाले विभिन्न स्वास्थ्य सेवाका पदमा १५१ जना कर्मचारी माग गर्दै करार सेवाका लागि दरखास्त आह्वान गरेको छ।
विश्वविद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार मेडिकल अधिकृत १०, डेन्टल सर्जन ४, बायोमेडिकल इन्जिनियर १, नर्सिङ अधिकृत १०, रेडियोग्राफी अधिकृत १, फार्मेसी अधिकृत २ र फिजियोथेरापी अधिकृत २ जना माग गरिएको छ।
त्यस्तै ल्याब टेक्नोलोजिस्ट ३, स्टाफ नर्स ९०, ल्याब टेक्निसियन १०, रेडियोग्राफर ६, फिजियोथेरापी सहायक २ र फार्मेसी सहायक १० जनाका लागि पनि दरखास्त आह्वान गरिएको विश्वविद्यालयले जनाएको छ।
अधिकृत तहका पदका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायक पाँचौँ तहका पदका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। सम्बन्धित पदका लागि आवश्यक शैक्षिक योग्यता हासिल गरी सम्बन्धित व्यावसायिक परिषद्मा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ। सातौँ तहका पदका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको कार्यअनुभवसमेत माग गरिएको छ।
उम्मेदवारको छनोट अन्तर्वार्तामार्फत गरिने विश्वविद्यालयले जनाएको छ। दरखास्तसँग शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित क्षेत्रको अनुभव खुल्ने कागजातको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति २०८३ असोज १ गते तोकिएको छ। सहायक पाँचौँ तहका लागि ५०० रुपैयाँ र अधिकृत सातौँ तथा आठौँ तहका लागि ७०० रुपैयाँ दरखास्त दस्तुर तोकिएको छ।
विश्वविद्यालयका अनुसार दरखास्त फाराम विश्वविद्यालयको वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजातसहित केन्द्रीय प्रशासन शाखामा बुझाउनुपर्नेछ।


