
धनगढी । रसुवा बाढीमा सुदूरपश्चिम प्रदेशका १२१ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले अद्यावधिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिमका विभिन्न जिल्ला घर भएका १२१ जना बेपत्ता भएका हुन् भने ४१ जना परिवारको सम्पर्कमा आइसकेका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर बिष्टकाअनुसार बाढीमा बेपत्ता भएकाहरुको तथ्यांकमा विवरण दोहोरो तेहरो परेको थियो । त्यसलाई काटछाट गरेर अन्तिम तथ्यांक निकाल्दा प्रदेशभरका १२१ जना सम्पर्कविहीन अवस्थामा रहेको बिष्टले जानकारी दिएका छन् ।
४१ जना भने सकुशल फेला परेका छन् । अहिलेसम्म बाढीमा बेपत्ता मध्ये एक जनाको मात्र शव पहिचान भएको छ । बाढीमा बेपत्ता बैतडीको सुनर्या गाउँपालिका–६ का ३२ वर्षीय हरिश चन्दको शव फेला परेको प्रहरीले जनाएको छ ।
अपर त्रिशूली हाइड्रो पावरमा कार्यरत चन्दको शव पूर्वी नवलपरासीमा फेला परेको हो । तल्लो शरीर समेत नभएको अवस्थामा भेटिएको शवको उनका परिवारका सदस्यले ट्याटुका आधारमा पहिचान गरेका थिए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको अवस्थामा चन्दको शव बुझेर परिवार हिन्दु परम्पराअनुसार उनको अन्त्येष्टि गरेका छन् । चन्दका भाइ बिशालकाअनुसार हरिशकोे दाहिने हातमा ट्याटु थियो ।
तल्लो शरीर समेत नभएको अवस्थामा सोही ट्याटुका आधारमा उनको पहिचान गर्न सफल भइएको उनी बताउँछन् । श्रीमती र दुई नाबालक छोराछोरी भएका चन्द विगत पाँच महिनादेखि रसुवाको हाइडोमा कार्यरतर थिए ।

