सुदूरपश्चिममा १० वर्षमा विपद्बबाट  ५ हजार १९५ जनाको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो १० वर्षमा प्राकृतिक विपद्का घटनाबाट ५ हजार १९५ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गरिएको छ।

धनगढीमा बिहीबार आयोजित प्रदेशस्तरीय नीतिगत संवाद कार्यक्रममा मुख्यमन्त्री खगराज भट्टले वि.सं. २०७२ देखि २०८२ सम्मको अवधिमा विपद्का घटनाबाट ५१७ जना बेपत्ता र १५ हजार ७५१ जना घाइते भएको जानकारी दिए।

उनका अनुसार यस अवधिमा करिब २ लाख २ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् भने विपद्बाट ३२ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

हालैको मनसुन अवधिमा मात्रै १०२ वटा विपद्का घटना दर्ता भएको कार्यक्रममा जानकारी दिइयो। तीमध्ये पहिरो, भारी वर्षा, बाढी, महामारी, चट्याङ, शीतलहर, हिमपात र भूकम्पलगायतका घटना रहेका छन्।

विपद् व्यवस्थापनका लागि प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायबीच समन्वय भइरहेको मुख्यमन्त्री भट्टले बताए। विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त बजेट विनियोजन, भवन आचारसंहिता कार्यान्वयन, पूर्वसूचना प्रणाली सुधार तथा प्रभावितलाई समयमै राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।

आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा उपसभामुख कोइलीदेवी चौधरी, भूमि व्यवस्था तथा सहकारीमन्त्री दमनबहादुर भण्डारी, प्रदेशसभा सदस्य, पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य डा. गंगालाल तुलाधर, विभिन्न संस्थाका प्रतिनिधि तथा स्थानीय तहका प्रमुखसहित करिब ६० जनाको सहभागिता थियो।

कार्यक्रममा विपद् जोखिम व्यवस्थापन प्रणालीमा Anticipatory Action (AA) एकीकरणका अन्तराल पहिचान तथा विपद् जोखिम व्यवस्थापन(DRR) र जलवायु परिवर्तन अनुकूलन (CCA) बजेटसम्बन्धी नीतिगत विषयमा छलफल गरिएको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...