
डोटी । डोटीको जोरायल गाउँपालिका–३ सेला क्षेत्रमा काठ बोकेको ट्रक दुर्घटनामा परेको छ।
बुडर–जोरायल भित्री सडकखण्डमा सेला हुँदै बुडरतर्फ जाँदै गरेको ना.७ ख ९१३० नम्बरको ट्रक सोमबार राति करिब साढे ११ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ७–८ मिटर तल खसेको हो।
ट्रक जोरायल गाउँपालिका–२ बुडरका २९ वर्षीय शेरबहादुर सार्कीले चलाएका थिए। ट्रकमा चालक सार्की मात्रै सवार रहेको र दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रकमा क्षति पुगेको छ। घटनाबारे मंगलबार बिहान साढे ६ बजेतिर चालक सार्कीले इलाका प्रहरी कार्यालय बुडरलाई जानकारी गराएका थिए।
सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक पदमसिंह साउँदको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर निरीक्षण गरेको थियो। दुर्घटनाका कारण सडकसमेत अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

