
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा मधेसी आयोगको आयोजनामा लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मधेसी समुदायको सशक्तीकरणलाई लक्षित गरी स्थापना भएको आयोगले मधेसमा मात्र नभई सुदूरपश्चिमका विद्यार्थीलाई समेत समेटेर कार्यक्रम सञ्चालन गरेको हो।
घोडाघोडी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा करिब २०० विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा लोकसेवा आयोगको परिचय, परीक्षाको तयारी गर्ने तरिका, सरकारी सेवामा प्रवेशका अवसर तथा सामाजिक सुरक्षालगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
मधेसी आयोगका सदस्य रेणु देवी शाहको सभापतित्व तथा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्ट र घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
उद्घाटन सत्रपछि सुरु भएको प्रशिक्षणमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भट्टले नीतिगत तथा योजनागत विषयमा जानकारी दिएका थिए। घोडाघोडी नगरपालिकाका शिक्षा अधिकृत उमेशराज रेग्मीले लोकसेवा आयोगको परिचय, लोकसेवा परीक्षाको तयारी कसरी गर्ने र सरकारी सेवामा किन प्रवेश गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए।
त्यस्तै, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीले लागूऔषध दुर्व्यसन, सडक दुर्घटना तथा लोकसेवा तयारीसँग सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा आयोगका सदस्य शाहले मधेसी आयोगले मधेसमा मात्र कार्यक्रम सञ्चालन गर्ने नभई सुदूरपश्चिमलगायत अन्य क्षेत्रका विद्यार्थीलाई समेत समेट्ने उद्देश्य राखेको बताइन्। लोकसेवा परीक्षाबारे जानकारी र तयारीका अवसर सबै क्षेत्रका विद्यार्थीले पाउनुपर्ने भएकाले घोडाघोडीमा कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो। यस्ता कार्यक्रमले विद्यार्थीमा लोकसेवाप्रतिको जागरुकता बढाउनुका साथै सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य बनाउन सहयोग पुग्ने उनले बताइन्।
प्रमुख अतिथि प्रदेश प्रमुख मियाले सुदूरपश्चिम प्रदेश भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक विविधताका दृष्टिले विशिष्ट रहेको उल्लेख गर्दै यस क्षेत्रका विद्यार्थीमा पनि प्रशस्त सम्भावना रहेको बताए। उनले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गरी अध्ययन, ज्ञान र सीप विकासमा ध्यान दिन आग्रह गर्दै निरन्तर मेहनत र आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रिन प्रेरित गरेका थिए।
नगरप्रमुख रावतले घोडाघोडीमा कार्यक्रम आयोजना गरेकोमा मधेसी आयोगलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई लोकसेवा तयारीबारे जानकारी दिनुका साथै लक्ष्य प्राप्तिका लागि थप ऊर्जा र प्रेरणा प्रदान गर्ने बताए। विद्यार्थीलाई योजनाबद्ध अध्ययन र निरन्तर अभ्यासमा जोड दिन यस्ता अभिमुखीकरण उपयोगी हुने उनको भनाइ थियो।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंह, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख डिभिजनल वन अधिकृत जनकराज पाध्याय, बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षक अधिकृत महेश न्यौपाने, घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय कलेज सुखडका प्रमुख देवेन्द्रकुमार प्रसाई, नेपाल शिक्षक महासङ्घ घोडाघोडी नगर कमिटीका अध्यक्ष सुबोध शर्मा तथा घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियु सभापति अशोक गौतमलगायतको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन निर्भीक पोष्टका प्रकाशक खेम ढुङ्गानाले गरेका थिए।

