


काठमाडौं । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको एक अध्ययनले देखाएको छ । तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिका कारण बढेको जलवायु परिवर्तन जिम्मेवार रहेको अध्ययनको निष्कर्ष छ ।


जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरिएको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण बढेको तापक्रमसँग सम्बन्धित ३२ हजार ६१९ जनाको मृत्यु भएको थियो । यो सन् २०२२ को गर्मीयाममा जलवायु परिवर्तनसँग सम्बन्धित २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो ।





अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।


इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बान्र्सका अनुसार जीवाश्म इन्धनको प्रयोगबाट बढेको तापक्रमले गर्मीलाई थप जोखिमपूर्ण बनाएको छ । युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ ।
गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको थियो । मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा बढी उमेरका थिए । यद्यपि, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढीको पनि गर्मीका कारण मृत्यु भएको अध्ययनमा उल्लेख छ ।
अनुसन्धानकर्ताहरूले वास्तविक तापक्रम र मृत्युदरलाई जलवायु परिवर्तन नभएको अवस्थाको कम्प्युटर नमुनासँग तुलना गरेर यसको प्रभाव आकलन गरेका थिए । अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमा जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ ।
विज्ञहरूले गर्मीबाट जोगिन पूर्वचेतावनी प्रणाली, शीतलन सुविधामा समान पहुँच र जोखिममा रहेका व्यक्तिका लागि सहयोग विस्तार गर्नुपर्ने बताएका छन् । साथै, जलवायु परिवर्तनको प्रमुख कारणमध्ये एक जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् ।






