


झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्।


आइतबार राति साढे ७ बजेको समयमा कन्ट्रक्सन कम्पनीको जमिनमुनि गाडिएको ट्यांकीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल लोड गर्ने क्रममा अचानक विष्फोट भई आगलागी भएको हो। ट्यांकीमा करिब ९ हजार ५ सय लिटर लाइट डिजेल भण्डारण गरिएको थियो।






आगलागीको रापबाट टिपर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ बस्ने ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य छ। घटनाका कारण टिपरमा सामान्य क्षति पुगेको छ भने ट्यांकीमा भएको सम्पूर्ण डिजेल जलेर नष्ट भएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी)रञ्जन अवाले जानकारी दिए ।

घटनालगत्तै स्थानीय प्रहरी , शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारीले आगोलाई वरिपरि फैलिनबाट रोकेको थिए । आगो सोमबार बिहान साढे ५ बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
विष्फोटको कारण र क्षतिको विवरण भने आइनसकेको डीएसपी अवाले जानकारी दिए ।






