


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् ।


श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखलाका लागि पाकिस्तानले बोलाएपछि फरहान स्वदेश फर्किन लागेका हुन् । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि फरहान पुनः एनपीएलमा फर्किने सम्भावना छ । उनको अनुपस्थितिमा कर्णालीले अर्को खेलाडी ल्याउने तयारी गरेको छ ।






घिमिरेका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) दिन थप २५ हजार अमेरिकी डलर मागेको छ । खेलाडीले एनओसी लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

नेपाली क्रिकेटको विकास र स्तर उकास्न विदेशी खेलाडी भित्र्याउने प्रयास भइरहेका बेला प्रतियोगिताको समयमा यस्तो समस्या आउनु निराशाजनक भएको घिमिरेले बताए । यद्यपि, उनले यस घटनालाई पाकिस्तानसँगको सम्बन्ध बिगार्ने विषयका रूपमा नलिएको र आपसी समझदारीमा समाधान खोज्नुपर्ने बताए ।
कर्णाली याक्सले फरहानसँगै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ । फरहानको अनुपस्थितिका लागि भने टोलीले वैकल्पिक खेलाडी ल्याउने तयारी गरेको छ ।






