


काठमाडौँ । एसीसी यु-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपालले दिएको १२९ रनको लक्ष्य भारतले १९.१ ओभरमै कुनै विकेट नगुमाई पूरा गरेको हो ।


टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४२.३ ओभरमा १२८ रनमा समेटिएको थियो । नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बलमा एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै आशिष लुहारले २९ र निरजकुमार यादवले २० रन बनाए । अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा नेपालको इनिङ्स सस्तैमा समेटिएको थियो ।






भारतका लागि आर्यवीर सहवागले आक्रामक ब्याटिङ गर्दै अविजित ७० रन बनाए । उनले ५२ बलमा ७ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै कप्तान लक्ष्य रायचन्दानीले ६३ बलमा अविजित ५३ रन बनाए । उनले ७ चौका प्रहार गरे । यी दुईले पहिलो विकेटका लागि अविजित १२९ रनको साझेदारी गर्दै भारतलाई सहज जित दिलाए । भारतले १९.१ ओभरमा १२९ रन बनाउँदा नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन् ।
यस जितसँगै भारतले समूह चरणमा महत्त्वपूर्ण दुई अङ्क जोडेको छ । नेपालका लागि भने भारतसँगको यो हारले समूह चरणको आगामी यात्रा थप चुनौतीपूर्ण बनाएको छ । नेपालले अब यूएई र पाकिस्तानसँग खेल्न बाँकी छ ।






