रविको आफ्नै नेता–कार्यकर्तामाथि कटाक्ष : वडाध्यक्ष बन्ने कोही छैनन्, आफैँ राजीनामा दिएर चुनाव लड्न आउनुपर्ला





चितवन पुगेका लामिछानेले एक कार्यक्रममा बोल्दै पार्टीभित्र अधिकांश नेता–कार्यकर्ताको नजर वडाध्यक्षभन्दा माथिका पदमा रहेको टिप्पणी गरे। वडाध्यक्षमा उम्मेदवार बन्न इच्छुक नदेखिएको भन्दै उनले व्यङ्ग्यात्मक शैलीमा आफैँ राजीनामा दिएर वडाध्यक्षको चुनाव लड्न आउनुपर्ने अवस्था रहेको बताए।
‘हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन् है ! एकैचोटि पालिका हेर्ने हो, माथि हेर्ने हो, तल हेर्दैनन् हाम्रा साथीहरू। अब यो वडामा चुनाव लड्न त अघि म राजीनामा दिएर आफैँ वडाध्यक्ष उठ्न आउनुपर्ला जस्तो छ,’ उनले भने।
उनले पार्टीभित्र अवसर र पदका लागि प्रतिस्पर्धा बढ्दै गएको संकेत गर्दै एउटै पदका लागि दुई जनालाई व्यवस्थापन गर्न खोज्दा विवाद र झगडा हुन सक्ने टिप्पणीसमेत गरे। ‘भोलि दुई जना साथीलाई एउटा पद छोड्दिनुपर्यो भन्नुस् त, हानाहान र मारामार हुन्छ,’ उनले भने।
आफ्नो त्यागको उदाहरण दिएर मात्रै पार्टीभित्र प्रशंसा नगर्न आग्रह गर्दै लामिछानेले त्यागको भावना व्यवहारमा पनि देखिनुपर्ने बताए।
उनले पार्टीले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ विधि अपनाएको उल्लेख गर्दै उम्मेदवार चयन प्रक्रिया विधिसम्मत र पारदर्शी हुने दाबीसमेत गरे।







