


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने हल्ला फैलाएर सरकारले आफूमाथि उठेका गम्भीर प्रश्नबाट ध्यान मोड्न खोजेको आरोप लगाएका छन्।


सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै पौडेलले अनुसन्धानको कठघरामा सभापति थापा नभई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेन हुनुपर्ने जिकिर गरेका छन्।






बिचौलिया भनिएका इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा राखिएको र सो अवधिमा मोबाइलबाट सामाजिक सञ्जाल प्रयोग, स्क्रिनसट तथा सन्देश मेटिएको विषयमा उनले प्रश्न उठाएका छन्।

प्रहरीले बरामद गरेको अनुसन्धानको महत्त्वपूर्ण प्रमाण प्रधानमन्त्रीका सल्लाहकारको निवासमा कसरी पुग्यो र कसको निर्देशनमा राखियो भन्दै पौडेलले सरकारसँग जवाफ मागेका छन्। उनले प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने र अनुसन्धान प्रभावित पार्ने कार्य दण्डनीय हुने उल्लेख गर्दै मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ समेत स्मरण गराएका छन्।
सरकारले राजनीतिक प्रतिशोधका रूपमा अनुसन्धानलाई प्रयोग गर्न खोजेको आरोप लगाउँदै पौडेलले निष्पक्ष अनुसन्धानको माग गरेका छन्। ‘गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन र सत्ताको आडले सत्य लुक्दैन,’ उनले लेखेका छन्।






