

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन् । आक्रमणकारीले दुवै जनाको टाउको र अनुहारमा इँटाले प्रहार गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गइसकेको बताए । उनले भने, ‘दम्पत्तीमाथि सुतिरहेको अवस्थामा अज्ञात समूहले आक्रमण गरेको भन्ने जानकारी आएको छ । प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ । अनुसन्धानपछि मात्रै दम्पतीमाथि कसले किन आक्रमण गरेको हो भन्ने खुल्ने छ ।’
किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिए ।
दम्पतीमाथि आक्रमणको कारण खुल्न नसकेको हरिपुर्वा नगरपालिका–८ का वडाध्यक्ष रमेश यादवले बताए ।

