

काठमाडौं । काठमाडौं विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरको सूचीमा परेको छ। बुधबार बिहानको तथ्याङ्कअनुसार काठमाडौं ११औँ स्थानमा रहेको छ।
वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरका अनुसार बिहान ५ देखि ६ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १५८ पुगेको छ। यो स्तरलाई स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ।
वायु प्रदूषण बढेसँगै बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन्। त्यसैले यस्ता व्यक्तिलाई विशेष सावधानी अपनाउन जनस्वास्थ्य तथा वातावरण क्षेत्रका जानकारहरूले सुझाव दिएका छन्।
आईक्यूएयरको सूचीमा पाकिस्तानको लाहोर २७० एक्यूआईसहित सबैभन्दा प्रदूषित सहर बनेको छ। दोस्रो स्थानमा २१९ एक्यूआईसहित बङ्गलादेशको ढाका, तेस्रोमा १९८ सहित भारतको कोलकाता र चौथोमा १८४ सहित अफगानिस्तानको काबुल रहेका छन्।
त्यस्तै, सूचीको पाँचौँ स्थानमा भारतको दिल्ली, छैटौँमा इन्डोनेसियाको जकार्ता र दसौँ स्थानमा पाकिस्तानको कराँची रहेका छन्।

