एकअर्कालाई हराउँदै फाइनलको यात्रा जिवित राख्ने दाउमा काठमान्डु र चितवन

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार एलिमिनेटर चरणको खेल खेलिँदैछ । यो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ ।

चितवन राइनोज र काठमान्डु गोर्खाजबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेबाट शुरू हुनेछ । यो खेलमा विजयी हुने टोलीले प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ ।

एलिमिनेटर खेलमा पराजित हुने टोली भने उपाधि होडबाट बाहिरिनेछ । त्यसैले बुधबारको खेलमा दुवै टोलीसँग जितको विकल्प छैन ।  काठमान्डु गोर्खाज र चितवन राइनोज दोस्रो पटक एनपीएलको प्ले–अफ चरणमा पुगेका हुन् । यसअघि, चितवन पहिलो संस्करणमा र काठमान्डु दोस्रो संस्करणमा प्ले–अफमा पुगेका थिए ।

यसपटक, काठमान्डु गोर्खाजले लिग तालिकाको तेस्रो र चितवन राइनोजले चौथो स्थानमा रहँदै एलिमिनेटर चरणमा आपसी भिडन्त पक्का गरेका हुन् । लिग चरणमा काठमान्डु गोर्खाजले सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजाबाट आठ अंक बटुलेको थियो ।

चितवन राइनोजले भने तीन खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्यो । वर्षाका कारण एक खेल रद्द भएकाले चितवनले लिग चरण सात अंकमा टुङ्ग्याएको थियो । जारी एनपीएलमा यी दुई टोली दोस्रो पटक आपसमा भिडन लागेका हुन् । यसअघि, लिग चरणको खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १० रनले हराएको थियो ।

काठमान्डु गोर्खाजले हारबाट तेस्रो संस्करणको शुरूआत गरेको थियो । काठमान्डु आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले हारेको थियो । त्यसपछि उत्कृष्ट पुनरागमन गरेको काठमान्डु गोर्खाजले लगातार चार खेल जितेको थियो । काठमान्डुले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी कर्णाली याक्सलाई चार विकेटले हराएको थियो ।

आफ्नो तेस्रो खेलमा विराटनगर किङ्समाथि नौ विकेटको एकतर्फी जित हासिल गरेको काठमान्डु गोर्खाजले चौथो खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले स्तब्धस् पारेको थियो । आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई १० रनले हराएको काठमान्डु गोर्खाजको टोली छैटौँ खेलमा भने सुदूरपश्चिम रोयल्ससँग सात रनले पराजित भएको थियो ।

आफ्नो सातौँ खेलमा भने काठमान्डु गोर्खाजको टोली पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएको थियो । त्यो खेल जितेको भए काठमान्डुले लुम्बिनीसँग पहिलो क्वालिफायर खेल्ने अवसर पाउने थियो । अर्कोतिर, चितवन राइनोजले भने जितबाट प्रतियोगिताको शुरूआत गरेको थियो । आफ्नो पहिलो खेलमा चितवनले विराटनगर किङ्सलाई आठ रनले हराएको थियो ।

चितवन र लुम्बिनी लायन्सबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा चितवनको टोली सुदूरपश्चिम रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो । चितवन राइनोजको टोलीले आफ्नो चौथो खेलमा पोखरा एभेन्जर्सलाई ३० रनले हराएको थियो । पाँचौँ खेलमा भने चितवनको टोली काठमान्डु गोर्खाजसँग १० रनले पराजित भएको थियो ।

आफ्नो छैटौँ खेलमा चितवन राइनोजले पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्समाथि चार विकेटको जित हासिल गरेको थियो । तर, लिग चरणको आफ्नो अन्तिम खेलमा चितवन राइनोजको टोली पनि पराजित भएको थियो । उक्त खेलमा चितवनलाई कर्णाली याक्सले २४ रनले हराएको थियो ।

यद्दपि, कर्णालीविरुद्धको उक्त खेलमा चितवन राइनोजले रवि बोपरासहितका आफ्ना केही प्रभावशाली खेलाडीलाई आराम दिएको थियो । यो सिजन काठमान्डुले बनाएको उच्च स्कोर ६ विकेट गुमाएर एक सय ८१ रन हो । कर्णाली याक्सले दिएको विजयलक्ष्य १९.४ ओभरमा पूरा गर्नेक्रममा काठमान्डुले यो स्कोर बनाएको थियो ।

यसका अतिरिक्त, चितवन राइनोजविरुद्धको खेलमा पनि काठमान्डु गोर्खाजले आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । चितवन राइनोजले बनाएको उच्च स्कोर भने सात विकेट गुमाएर एक सय ७० रन हो । चितवनले यो स्कोर काठमान्डुविरुद्धको खेलमै बनाएको थियो ।

काठमान्डु गोर्खाजका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रासिद खान हुन् । उनले सात खेलको ६ पालीमा दुई अर्धशतकको मद्दतले कुल एक सय ८६ रन बनाएका छन् । चितवन राइनोजका लागि सर्वाधिक रन बनाउने खेलाडी रवि बोपारा हुन् । उनले पाँच खेलमा एक अर्धशतकको मद्दतले कुल एक सय ८४ रन बनाएका छन् ।

यसैगरी, चितवन राइनोजका लागि सर्वाधिक विकेट लिने बलर कमलसिंह ऐरी र रिजन ढकाल हुन् । चितवनका यी दुवै बलरले १२–१२ विकेट लिएका छन् । काठमान्डु गोर्खाजका लागि सर्वाधिक विकेट लिने बलर भने जहाँदाद खान हुन् । उनले पनि सात खेलमा १२ विकेट लिइसकेका छन् । एनपीएलको इतिहासमा हालसम्म चितवन राइनोज र काठमान्डु गोर्खाजबीच तीन पटक भिडन्त भइसकेको छ । त्यसमध्ये दुई खेलमा काठमान्डु र एक खेलमा चितवन विजयी भएका छन् ।

सन् २०२४ मा आयोजित पहिलो संस्करणको लिग चरणमा चितवन राइनोजले काठमान्डु गोर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो । यसैगरी, सन् २०२५ मा आयोजित दोस्रो संस्करणको लिग चरणमा भने काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको थियो । एनपीएलको जारी संस्करणको लिग चरणमा पनि काठमान्डु गोर्खाजले चितवन राइनोजमाथि १० रनको रोमाञ्चक जित निकालेको थियो ।

चितवन राइनोजको टोलीमा सिकन्दर राजा, देव खनाल, डेविड मलान, अर्जुन साउद, रवि बोपरा, विवेक यादव, रिजन ढकाल, कमलसिंह ऐरी, रञ्जित कुमार, मौसम ढकाल, कलिम सानालगायतका खेलाडी रहेका छन् ।

काठमान्डु गोर्खाजको टोलीमा करण केसी, साहिल पटेल, मोहम्मद आदिल आलम, रासिद खान, भीम सार्की, जहाँदाद खान, सन्तोष यादव, देव साह, साहब आलम, साम हेजलेट, हरिशंकर साह, सुमित महर्जन, दिपेश कँडेललगायतका खेलाडी छन् ।

-यस अघि प्राविधिक त्रुटीका कारण अर्को समाचार प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौँ -सम्पादक 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...