

८ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ का मा नागरिक उन्मुक्ति पार्टीले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फका तीन वटै सिटमा जित हात पार्दै क्लिन स्वीप गरेको हो ।
प्रतिनिधिसभामा रेशम पत्नी समेत रहेका पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ भारी मतले विजयी भएकी छन् । श्रेष्ठले कुल ६४ हजार १६४ मत खसेकोमा ३० हजार ४०४ मत प्राप्त गर्दै विजयी हासिल गरेकी हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८ मत पाए । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका चौधरीलाई नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीको साथ थियो ।
नेकपा एमालेका तपेन्द्र रावलले भने ५ हजार ९१० मत प्राप्त गर्दै तेस्रो स्थान कायम गरेका छन् । २०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमीगत अवस्थामै ३४ हजार बढि मतले यो क्षेत्रबाट जितेका थिए । कारागारमै रहेका बेला चौधरीले केही महिना अघि मात्र श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी खोलेका थिए ।
३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि चौधरीको पार्टीले क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको थियो ।
प्रदेशसभा (१) मा उन्मुक्ति पार्टीकै कैलाश चौधरी र प्रदेशसभा (२) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका हुन् । प्रदेशसभा (१) मा १५ हजार १०१ मतसहित विजयी भएका कैलाश चौधरीले प्रतिद्धन्द्धी माओवादी केन्द्रका दीर्घराज विनाडीलाई चार हजार ७२४ मतान्तरले पराजीत गरेका हुन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार विनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा (२) मा ११ हजार ३१७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी विजयी हुँदा प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा.रणबहादुर रावलले आठ हजार ५३ मत पाएका छन् भने नेकपा एमालेका द्धारिका न्यौपानेले पाँच हजार ३२० मत प्राप्त गरे ।

