भाटभटेनी सुपर मार्केटलाई साढे दुई लाख जरिवाना

१४ पुस, धनगढी । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको भाटभटेनी सुपर मार्केटलाई उपभोक्ता ठगी गरेको आरोपमा साढे दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमनपश्चात सुपर मार्केटलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा उपभोक्तालाई झुक्याएर ठगी गरेको पाइएपछि कारबाही गरिएको सहायक प्रजिअ कँडेलले बताए ।

भाटभटेनी सुपर मार्केटको हेटौँडा आउटलेटमा राखिएको उत्पादनको बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग मिति उल्लेख नगरिएको चिनी र पुनः प्याकिङ गरेका नुनका प्याकेटहरू बिक्रीका लागि राखिएको पाइएको उनले जानकारी दिए ।

टोलीले पुनः प्याकिङ गरिरहेको अवस्थामा उत्पादन र उपभोग मिति उल्लेख नभएको चिनी, साल्ट ट्रेडिङ कर्पोरेसनको आयो नुन र उत्पादन मिति उल्लेख नभएको फेस माक्स बरामद गरेको थियो ।

त्यस्तै, न्यास्लेको कफीको उल्लेखित मूल्यभन्दा बढीको बिलबिजक जारी गरी बिक्री गरेको फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले बताए ।

टोलीले भाटभटेनीबाट बरामद भएको ५० केजीको ३० बोरा र ९२ थान (१८४ केजी) चिनी, २२ केजी नुन, नेभियाको २३ थान फेसवास, ४४ थान बडी लोसन, ५९ थान टोनर, १०१ थान लोसन शिलबन्दी गरेको छ ।

सम्बन्धित समाचार
Loading...