धनगढीको माया मेट्रो अस्पतालद्धारा दुवै हातखुट्टा भाँचिएका किशोरको निःशुल्क शल्यक्रिया







धनगढी । बैतडीको दशरथचन्द नगरपालिका–स्थित निग्लासैनका १६ वर्षीय रुपेश भुलको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क शल्यक्रिया गरेको छ।
भारतको जम्मु–कश्मीरमा साइकलबाट लडेर गम्भीर घाइते भएका रुपेश बेहोस अवस्थामा फेला परेका थिए। दुर्घटनामा उनका दुवै हात र दुवै खुट्टा भाँचिएका थिए। उनलाई तत्काल नजिकैको सरकारी अस्पतालमा लगिए पनि एक हप्तासम्म उपचारमा ढिलाइ हुँदा हातखुट्टामा सङ्क्रमण बढ्दै गएको थियो।
पछि आफन्तले नेपालमै उपचार गराउने निर्णय गर्दै उनलाई गत चैत ८ गते धनगढीस्थित माया मेट्रो अस्पताल ल्याएका थिए। आर्थिक अवस्था कमजोर भएकाले अस्पतालका विशेषज्ञ चिकित्सक र प्रशासनबीचको छलफलपछि निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरिएको हो। उपचारपछि रुपेश हाल अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
अस्पतालका पिआर म्यानेजर जगत महताका अनुसार करिब तीन साताको उपचारपछि रुपेश घर फर्किएका हुन्। उनले उपचारमा संलग्न चिकित्सक टोली र अस्पताल प्रशासनप्रति आभार व्यक्त गरेका छन्।
रुपेशका बुबाले भारतमा प्रभावकारी उपचार सम्भव नभएकाले नेपाल ल्याइएको बताउँदै आफ्नै प्रदेशमा छोराको सफल उपचार भएपछि परिवारमा खुसी छाएको बताए। अस्पतालले दिएको सेवाप्रति आफू सन्तुष्ट रहेको उनको भनाइ छ।
रुपेशको उपचारमा हार्डजोर्नी विशेषज्ञ डा. विकास पाण्डे, डा. रितेश पोखरेल लगायतको टोली संलग्न रहेको थियो।
