

भारतको सीएमजी युनिभर्सिटी मेघालयमा पढेका नेपाली विद्यार्थीको शैक्षिक उपाधि संकटमा परेको छ ।
त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले त्यहाँ अध्ययन गरेका एक दर्जन बढी विद्यार्थीको नाम सार्वजनिक गर्दै उपाधिको वैधता पुष्टि गर्न एक महिने अल्टिमेटम दिएको छ । भारतको सर्वोच्च अदालतले सन् २०२५ फेब्रअरी १३ मा सन् २०१४ र सोपछि सीएमजी युनिभर्सिटीबाट जारी भएका शैक्षिक उपाधिलाई अवैध ठहर्याएको थियो ।
सोही युनिभर्सिटीमा पढेका १६ जना नेपालीले त्रिविबाट समकक्षता प्रमाणपत्र प्राप्त गरेका थिए । तर, शैक्षिक उपाधि अवैध ठहरिएपछि त्रिविले छानबिन थालेको हो ।
त्रिवि पाठ्यक्रम विकास केन्द्रले सीएमजी युनिभर्सिटीबाट उपाधि हासिल गरेका १६ जना विद्यार्थीलाई आफ्नो वैधता पुष्टि गर्न समकक्षता पत्रसहित मेघालय राज्य सरकार शिक्षा विभागबाट गरिएको प्रमाणीकरणलगायत कागजात पेश गर्न भनेको छ ।
केन्द्रले सपना पाण्डे, रमेशकुमार झा, सविता अधिकारी, बब्लुकुमार झा, संगमकुमार झा, हरिकेश वर्मा, देवेन्द्र देसार, दक्षप्रसाद धिताल, ललितनारायण यादव, दिनदयाल चौधरी, सरोजकुमार ठाकुर, शिवेन्द्रलाभ कर्ण, राजीवकुमार झा, दिपेन्द्र साउद र जयराज कपाडीलाई यस्तो निर्देशन दिएको हो ।
सूचनामा नाम समावेश नभएका तर सीएमजीबाट उपाधि लिई समकक्षता लिएका विद्यार्थीलाई पनि वैधता पुष्टि गर्न भनिएको छ ।
‘समकक्षता पत्र छानबिन भइरहेकाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले प्राप्त गरेको समकक्षता पत्रको सक्कल प्रति तथा आफूले प्राप्त गरेको शैक्षिक उपाधिको मेघालय राज्य सरकार शिक्षा विभागबाट गरेको प्रमाणीकरण एवं उपाधिको वैधता पुष्टि गर्ने अन्य कुनै आधार प्रमाण भए सोसहित यस केन्द्रमा लिखित रुपमा पेश गर्नुहोला’, सूचनामा भनिएको छ ।
तोकिएको समयभित्र प्रमाण पेश नगरिएमा समकक्षता त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम २०८२ को विनियम २१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइने केन्द्रको चेतावनी छ ।
यसअघि भारतकै मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका ९८ नेपाली विद्यार्थीको शैक्षिक उपाधिको वैद्यतामाथि पनि प्रश्न उठेको थियो ।

