

धनगढी । कैलाली र बाजुरामा भएका छुट्टाछुट्टै आगलागीका घटनामा लाखौँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
गोदावरी नगरपालिका–९ बल्मीस्थित लक्ष्मीदेवी जोशीको गाईगोरु बाँध्ने गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठसहित भित्र रहेका काठ, भुसा, पराल लगायतका सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट अन्दाजी १ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
यस्तै, खप्तडछेडेदह गाउँपालिका–५ डोगडीस्थित लोकेन्द्र रावतको ढुंगा–माटोले बनेको टिनले छाएको दुईतले आठ कोठे कच्ची घरमा विद्युत् सर्ट भएर आगलागी भएको छ।
आगलागीबाट घरभित्र रहेका खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट भएका छन् भने गोठमा बाँधिएका दुई वटा बाख्रा जलेर मरेका छन्। घटनाबाट भएको पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
मानवीय क्षति भने नभएको र स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बताइएको छ।

