


काठमाडौँ । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, टोखा नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल तथा चन्द्रागिरि नगरपालिका–११ का प्रवीण श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार रामबहादुर आलेमगरले क्यानडा पठाइदिने भन्दै चार जनाबाट ३९ लाख ५८ हजार रुपैयाँ असुलेका थिए। यस्तै, आशिष कार्कीले न्युजिल्याण्ड पठाइदिने प्रलोभनमा तीन जनाबाट १३ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
लोकबहादुर श्रेष्ठले बेलायतमा आकर्षक आम्दानी हुने भन्दै एक जनाबाट १९ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ। तुलसा पुनमगरले अमेरिका पठाइदिने भन्दै एक पीडितबाट १० लाख रुपैयाँ असुलेकी थिइन्।
त्यसैगरी, कृष्णप्रसाद पोखरेलले दुबई पठाइदिने भन्दै एक जनाबाट १० लाख रुपैयाँ र प्रवीण श्रेष्ठले सर्बिया पठाइदिने आश्वासनमा अर्को एक जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

