
धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा प्रदेश सभा सदस्य डम्मरी(रक्षा) महराले दाबी गरेकी छन् । मुख्यमन्त्री कमलबहादुर शाह र सांसद दिवान सिंह विष्ट पक्षबीच मन्त्रालयको भागबण्डा टुंगिएसँगै महराले आर्थिक मामिलामा आफ्नो दाबी गरेको स्रोत बताउँछ ।

स्रोतकाअनुसार दुुई पक्षको सहमतिपछि उनले मुख्यमन्त्रीको भागमा परेको अर्थ मन्त्रालयमा दाबी गरेकी हुन् । उनीसँगै अर्थमा प्रमुख सचेतक बिक्रम सिंह धामीको समेत दाबी रहेको बताइन्छ ।
महराले मुख्यमन्त्रीको पद र पार्टीको एकता जोगाउन भूमिका खेलेको, सरकारमा महिला प्रतिनिधित्व गराउनुुपर्ने लगायतका कारण प्राथमिकता राख्न स्वयंम शाहलाई आग्रह गरेको स्रोतको दाबी छ ।
तर, महरालाई अर्थमन्त्री बनाउने वा सामाजिक राज्यमन्त्री दिने भन्ने विषयमा शाह छलफलमै रहेको बताइन्छ । महराले मुुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउन संसदीय दलमा दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन् ।
शाहविरुद्धको हस्ताक्षर फिर्ता लिएपछि अविश्वासको प्रस्ताव कमजोर बन्दै मुख्यमन्त्रीको पक्षमा दलभित्र बहुमत जुुटेको थियो ।

