
अछाम। अछामको कमलबजार नगरपालिका–७ क्वालेखस्थित भित्री कच्ची सडकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ३४ वर्षीय कर्ण भाटलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जीपमा चालकसहित चार जना सवार रहेकोमा ३० वर्षीय बद्री भाट र १३ वर्षीय मिनबहादुर भाट घाइते भएका छन्। उनीहरूलाई जिल्ला अस्पताल मंगलसेनमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।
दुर्घटनामा संलग्न जीपका चालक तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय पुष्प बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

