सुदूरपश्चिममा कांग्रेस विवाद भागबण्डामा टुंगिएपछि को–को बन्दैछन् मन्त्री ?

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र संसदीय दलको नेतृत्व परिवर्तनलाई लिएर चर्किएको विवाद अन्ततः मन्त्री भागबण्डामार्फत समाधान भएको छ। मुख्यमन्त्री कमलबहादुर शाह विरुद्ध अभियान चलाएको सांसद दिवानसिंह विष्ट पक्षले मन्त्री हेरफेरमा सहमति जनाएपछि विवाद साम्य भएको हो।

शनिबार कांग्रेस केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणा र केन्द्रीय सदस्य रमेश केसी को उपस्थितिमा भएको छलफलमा सरकार पुनर्गठन गर्ने समझदारी बनेको स्रोतले जनाएको छ।

सहमतिअनुसार कांग्रेसको भागमा रहेका तीन मन्त्रालयमध्ये दुई मन्त्रालय विष्ट पक्ष र एक मन्त्रालय शाह पक्षले पाउनेछन्। त्यसैगरी दुई राज्यमन्त्री पद पनि दुवै पक्षले एक–एक वटा बाँडफाँट गर्ने सहमति भएको छ।

भागबण्डाअनुसार आर्थिक मामिला मन्त्रालय शाह पक्षले राख्नेछ भने सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विष्ट पक्षले पाउनेछ। अर्थ राज्यमन्त्री विष्ट पक्ष र सामाजिक विकास राज्यमन्त्री शाह पक्षबाट चयन गरिनेछ।

मन्त्री बन्ने दौडमा को–को ?

मुख्यमन्त्री पक्षबाट आर्थिक मामिला मन्त्रीका लागि प्रमुख सचेतक विक्रमसिंह धामी र सांसद डम्मरी महरा को नाम चर्चामा छ। सांसद मधु भारती पनि सरकारमा सहभागी हुन सक्ने सूचीमा रहेकी छन्।

शाह निकट एक सांसदका अनुसार धामी, महरा र भारतीमध्ये एक जना मन्त्री तथा एक जना राज्यमन्त्री बन्ने सम्भावना छ। अन्तिम निर्णयको अधिकार भने मुख्यमन्त्री शाहलाई नै दिइएको छ।

धामी यसअघि प्रमुख सचेतक भइसकेकाले महिला तथा युवा प्रतिनिधित्व सुनिश्चित गर्न महरालाई मन्त्री बनाउनुपर्ने दबाब मुख्यमन्त्रीमाथि रहेको बताइन्छ। साथै मुख्यमन्त्रीविरुद्धको हस्ताक्षर फिर्ता गराउन महराले भूमिका खेलेको भन्दै उनलाई सरकारमा समेटिने सम्भावना बलियो देखिएको छ।

विष्ट पक्षमा पनि आकांक्षी धेरै

मुख्यमन्त्रीविरुद्धको अभियानको नेतृत्व गरेका दिवानसिंह विष्टले आफू मन्त्री नबन्ने बताएका छन्। अब विष्ट पक्षका बाँकी सात सांसदमध्येबाट तीन जनालाई मन्त्री र राज्यमन्त्री बनाउने तयारी छ।

विष्टका अनुसार पहाड र तराई क्षेत्रको सन्तुलित प्रतिनिधित्व तथा समावेशितालाई आधार बनाएर मन्त्री छनोट गरिनेछ।

विष्ट पक्षमा पहाडबाट पदम शाही, मानबहादुर रावल र जुना दानी छन् भने तराईबाट दिवानसिंह विष्ट, बेलबहादुर राना, गीता चौधरी, ललिता सुनार र तुलसी देवकोटा रहेका छन्।

स्रोतका अनुसार पहाडको प्रतिनिधित्व गर्दै पदम शाही र मानबहादुर रावल मन्त्री बन्ने सम्भावना बलियो छ। कञ्चनपुरबाट बेलबहादुर राना र गीता चौधरीमध्ये एक जनाले मन्त्री बन्ने अवसर पाउन सक्नेछन्।

कैलालीको प्रतिनिधित्व सुनिश्चित गर्न ललिता सुनार र तुलसी देवकोटामध्ये एक जनालाई राज्यमन्त्री बनाउने विषयमा पनि छलफल भइरहेको छ।

कांग्रेसले आइतबारसम्म मन्त्रीहरूको नाम टुंग्याएर सोमबारभित्र सरकार विस्तार गर्ने तयारी गरेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...