
काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका एक वृद्ध दम्पतीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार साँझ करिब ६:३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हाम फालेपछि बेपत्ता भएका हुन्।
घटनापछि बुधबार रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा खोजी कार्य सञ्चालन गरिएको थियो। रातभर खोजी गर्दा दुवै जनाको अवस्था पत्ता नलागेपछि बिहीबार बिहानदेखि थप सुरक्षा टोली परिचालन गरी सुनकोशी नदी क्षेत्रमा खोजी तीव्र बनाइएको छ।
प्रहरीले हालसम्म दम्पतीको अवस्था अज्ञात रहेको जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरबाट पीडित तथा अपाङ्ग रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

