सुदूरपश्चिममा भट्ट सरकारको पहिलो निर्णय : डायलाइसिस सेवा विस्तार गर्ने

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेका छन्।

Nast Ad

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भट्टले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न अस्पतालमा डायलाइसिस शय्या थप गर्ने महत्वपूर्ण निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शय्या थप गरिनेछ।

त्यस्तै, लम्कीचुहा अस्पतालमा पाँच तथा बयलपाटा र जोगबुडा प्रादेशिक अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई डायलाइसिस शय्या विस्तार गर्ने निर्णय गरिएको छ।

डायलाइसिस सेवा विस्तारसँगै मिर्गौला रोगका बिरामीले उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता केही हदसम्म कम हुने प्रदेश सरकारको अपेक्षा छ। नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीको सङ्ख्या बढ्दै गए पनि प्रदेशका सबै क्षेत्रमा पर्याप्त सेवा उपलब्ध नहुँदा बिरामीहरू उपचारका लागि टाढा–टाढा जान बाध्य हुँदै आएका छन्।

पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ।

शुक्रबार मुख्यमन्त्री भट्टसँगै नेकपा एमालेबाट सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी तथा एक राज्यमन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री भट्टसहित नवनियुक्त मन्त्रीहरूले नागरिकमैत्री, प्रभावकारी र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र नागरिकको सहज पहुँचलाई केन्द्रमा राखेर अघि बढ्ने बताएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...