
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो एक वर्षभित्र देशका १ करोड युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप तालिम प्रदान गरिने घोषणा गरेका छन्। ८०औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीस्थित लाल किलाबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘विकसित भारतुको संकल्प पूरा गर्न युवा शक्तिको भूमिका निर्णायक हुने बताए।

सम्बोधनका क्रममा उनले देशलाई तीव्र गतिमा अघि बढाउने सबै प्रयासहरूका पछाडि युवाहरू नै मुख्य प्रेरक शक्ति रहेको उल्लेख गरे। विश्वभर प्रविधिको क्षेत्रमा भइरहेको द्रुत विकासलाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदीले भने, ‘हामीले संकल्प लिएका छौँ कि आउँदो एक वर्षभित्र १ करोड युवाहरूलाई एआई सीप तालिम दिनेछौँ, ताकि हाम्रा देशका युवाहरूमा एआईको क्षेत्रमा पनि विश्वलाई नेतृत्व गर्न सक्ने क्षमता निर्माण होस्।’
उनले विकसित भारतको यात्रामा युवा वर्गको ठूलो योगदान रहने भन्दै प्रविधिको क्षेत्रमा भारतलाई विश्वकै नेतृत्वदायी भूमिकामा पुर्याउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।

