
काठमाण्डौँ । प्रधानन्यायाधीश मनोजकुमार शर्माको आड पाएपछि नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना शक्तिहरु हौसिएका छन् । कतिसम्म भने गत वर्षको भदौमा जेनजी आन्दोलन र फागुनको निर्वाचनका क्रममा जनताबाट बहिष्कृत र तिरस्कृत पात्रहरु समेत अहिले आएर गर्जिन थालेका छन् ।

प्रधानन्यायाधीश शर्माले भित्रभित्रै कांग्रेस र एमालेलाई नरमभाव मात्र होइन, सहानुभूति नै राख्न थालेका छन् । उनकै प्रतापले विष्णु पौडेलले गम्भीर फौजदारी कसुरबाट झन्डै उन्मुक्ति पएका छन् । नेपाली कांग्रेसमा गगन थापाले गरेको विद्रोहलाई मान्यता दिने यसअघिको सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न सक्ने संकेतसहित निस्सा जारी भएको छ । प्रधानन्यायाधीश शर्माको कार्यकाल यसरी बुढा कांग्रेसीहरुको हौसला बढाउने गरी सुरु भएको छ ।
सर्वोच्चको यही आदेशलगत्तै शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत जेनजी आन्दोलनमा डामिएका र रातारात भागेर सिंगापुर पुगेका देउवा अहिले अनुकूल समय पारेर फर्किँदा भने सिंहझैँ गर्जिएका छन् । जेनजीबाट डामिएका र तिरष्कृत भएका नेताहरुमा देउवा दम्पती अग्रपंक्तिमा पर्छ । विगतमा केही भएकै होइन जस्तो गरी देउवा अहिले डुक्रिँदै छन् कि राजा ज्ञानेन्द्रले गर्न नसकेको काम बालेनले गर्न सक्छन् त भनेर । बालेन सरकारलाई उनले खुला चेतावनी दिइरहेका छन् । यो आड उनले कहाँबाट पाए र ?
यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली पनि विस्तारै आफ्नो पुरानै अवतार देखाउन थालेका छन् । आफ्नो उही दम्भी र हठी स्वभाव अनि अरुलाई होच्याउने शैली । ओलीको बोली यस रुपमा आउनुका पछाडि पनि केले काम गरेको छ त ? यी सबैका पछाडि नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माको भूमिका जिम्मेवार छ । उनले अदालतमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल, नहकुल सुवेदीजस्ता पुराना शक्तिका प्रतिनिधि ठानिएका न्यायाधीशहरुसमक्ष त्वंशरणम् गरेका छन् । उनीहरुका घरघरै गएर बिन्तीभाउ गरेर काममा फर्काएका छन् ।
एकातिर अदालतबाट कांग्रेस-एमालेका विवादास्पद नेताहरुलाई निसर्त र सहुलियतपूर्ण ढंगले रिहाइको शृंखला चलाएका छन् मनोजले । अर्कोतिर तिनै कांग्रेस-एमालेका प्रतिनिधिहरुलाई अदालतमा हालीमुहाली गर्न दिइरहेका छन् । उनीहरुबाटै घेरिएका छन् । उनीहरुकै सल्लाह र मार्गचित्रमा चलिरहेका छन् । अदालतमा आफ्नो बहुमत छ र कयौँ वर्षसम्म यो प्रभाव कायम रहनेछ भन्ने ओली र देउवालाई राम्रोसँग थाहा छ । अख्तियारदेखि अदालतसम्मै आफ्नो सिन्डिकेट उत्तिकै जब्बर र प्रभावशाली रहेको कुरा मनोजका गतिविधिबाट प्रस्ट भएपछि देउवा र ओलीको बोली फुटेको बुझ्न गाह्रो छैन ।
अब बालेन सरकारलाई कुनै अफ्ठ्यारो परेमा त्यो अदालतबाटै पर्नेछ । कतिपय बालेन सरकारका रणनीतिक कदममा अदालतले अंकुश लगाइसकेको छ । अझै बालेनलाई ठेगान लगाउने गरी मनोजले पुराना शक्तिहरुसँग सौदा गरेछन् भने त्यो आश्चर्यको विषय हुने छैन । किनकि उनी स्वयंको घाँटी पनि तिनै ओली र देउवाहरुसँग जोडिएको छ । ओली-देउवा-चोलेन्द्र सिन्डिकेटका असली प्रतिनिधि मनोज हुन् ।
त्यसैले गत भदौदेखि ओइलाएका कांग्रेस-एमाले वर्ष दिन पुग्दा नपुगेदै साउने झरीसँगै गर्जदै छन् । र, ताजा जनादेशबाट बनेको दुई तिहाइको बालेन सरकारलाई खुला चुनौती दिन थालेका छन् । उनीहरु ढुक्क छन् कि मनोज अदालतमा हुन्जेल आफूहरुलाई कुनै खतरा हुने छैन । प्रत्येक संकटको घडीमा मुक्तिदाता बनेर मनोज प्रकट हुनेछन् । तसर्थ बालेन सरकारको सबैभन्दा ठूलो चुनौती कोही छ भने अहिलेलाई प्रधानन्यायाधीश मनोजकुमार शर्मा नै देखिएका छन् ।

