बैतडीमा किशोरी आमा बढ्दै, तीन वर्षमा ७५२ ले लिए प्रसूति सेवा

cp new add
Nisharg hospital

बैतडी । बैतडीमा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या हरेक वर्ष बढ्दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय बैतडीको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले जिल्लामा किशोरी आमाको संख्या निरन्तर बढिरहेको देखाएको हो।

Nast Ad

स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट ७५२ जना किशोरीले सुरक्षित प्रसूति सेवा लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा २० वर्ष नपुग्दै २२१ किशोरीले सुरक्षित प्रसूति सेवा लिएका थिए। आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर २५८ पुगेको थियो। यस्तै, आर्थिक वर्ष २०८२/८३ मा थप वृद्धि हुँदै २७३ किशोरीले प्रसूति सेवा लिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।

वर्षेनी बढिरहेको यो तथ्यांकले जिल्लामा बालविवाहको समस्या अझै कायमै रहेको देखाउने जानकारहरूको भनाइ छ। बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनीहरूको भनाइ छ। बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गरिरहेकी अभियन्ता कुन्ती भट्टले बालविवाह रोक्न बहुपक्षीय प्रयास आवश्यक रहेको बताइन्। उनका अनुसार पछिल्लो समय बालविवाहको स्वरूपमा समेत परिवर्तन आएको छ।

‘बालविवाह कुनै एक पक्षको प्रयासले मात्रै रोक्न सकिँदैन, यसका लागि बहुपक्षीय प्रयास आवश्यक छ,’ भट्टले भनिन्। उनका अनुसार मागी विवाहको तुलनामा पछिल्लो समय भागी विवाहका कारण हुने बालविवाह बढ्दै गएको छ। नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ। नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्यसमेत लिएको छ। तर, ग्रामीण क्षेत्रमा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या अझै कायम रहेको सरोकारवालाहरू बताउँछन्।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले कम उमेरमा गर्भधारण र प्रसूति हुँदा आमा तथा नवजात शिशु दुवैको स्वास्थ्यमा जोखिम बढ्ने बताए।‘कम उमेरमा बच्चा जन्माउँदा कुपोषण, कम तौलको बच्चा जन्मिने, रक्तअल्पता लगायतका जोखिम निम्तिने गर्छन्,’ उनले भने।

बालविवाह रोक्न कानुनी व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन र सामाजिक चेतनाको अभावका कारण बैतडीमा किशोरी आमाको संख्या बढिरहेको देखिएको स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको भनाइ छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...